स्वास्थ्य विमा, कोरोना र अन्य उपचार बापत सरकारले धुलिखेल अस्पताललाई भदौ मसान्तसम्म २६ करोड रकम भुक्तानी दिन बाँकी छ । स्वास्थ्य विमा बापत सातामा एक करोड उपचार बापत खर्च हुन थालेको छ । कर्मचारीले तलब पाएका छैनन भने कोरोनाको जोखिम भत्ता समेत उपलब्ध हुन सकेको छैन । दशै नजिकिन थाले पछि कर्मचारी पेश्की भन्दा तलवको चिन्ता थपिएको छ ।
धुलिखेल/देशकै नमुना विपी राजमार्गको पहुँचमा रहेको उपत्यकाको नजिक दैनिक एक हजार पाँच सय भन्दा धेरै विरामीलाई सेवा उपलब्ध गराउँदै आएको धुलिखेल अस्पताल सरकारले समयमै भुक्तानी नगरि दिँदा चरम आर्थिक संकटमा परेको छ ।
‘सरकारले स्वास्थ्य विमा, कोरोनाको उपचार र अन्य सेवा बापत धुलिखेल अस्पताललाई भदौ मसान्तसम्म २६ करोड रकम भुक्तानी दिन बाँकी छ’– अस्पताल प्रशासक प्रधुम्न श्रेष्ठ–‘स्वास्थ्य विमा बापत सातामा एक करोड खर्च हुन थालेको छ । कर्मचारीले भदौ देखि तलब पाएका छैनन भने कोरोनाको जोखिम भत्ता समेत उपलब्ध हुन सकेको छैन । दशै नजिकिन थाले पछि कर्मचारीलाई पेश्की भन्दा तलवको चिन्ता थपिएको छ ।’ कोरोना महामारीका कारण विद्यार्थीहरु भर्ना हुन नसक्दा शिक्षण अस्पताल समेत रहेको धुलिखेललाई थप आर्थिक ब्यवहार थपिएको हो । विरामीको उपचार, शिक्षण शुल्क मार्फत ब्यवस्थापन हुँदै आएको आर्थिक श्रोत कमजोर भएका कारण अस्पताललाई आर्थिक संकट पर्न थालेको हो । धुलिखेल अस्पतालले १ हजार ३ सय ९० कर्मचारीहरुका लागि मासिक ७ करोड तलब भुक्तानी गर्नु पर्छ । ‘भदौ र असोज महिनाको तलब १४ करोड र दशै पेश्की समेत उपलब्ध गराउँदा १९ करोड भन्दा धेरै भुक्तानी गर्नु पर्नेछ’–अस्पताल प्रशासक प्रधुम्न श्रेष्ठले भन्नुभयो–‘औषधी खरिद, परिक्षणका लागि किट लगायतका अन्य सामाग्री खरिद गर्न समेत रकम छैन । स्वास्थ्य विमा बापत उपचार गराउन आउने विरामीहरुका लागि समेत औषधी र परिक्षण गर्ने किट उपलब्ध गराउन संकट पर्न थालिसक्यो ।’
सरकारले अस्पताललाई स्वास्थ्य विमा बापत असार मसान्तसम्म ६ करोड रकम उपलब्ध गराउने बाँकी छ भने साउन र भदौ महिनाको १३ करोड रकम उपलब्ध गराउन बाँकी छ । असोज एक साताको १ करोड भैसकेको छ । कोभिड १९ को उपचारका लागि सरकारले तोकेको अस्पताल धुलिखेलमा धेरै विरामीहरुले सेवा प्राप्त गरे । उपचार बापत भुक्तानी गर्नुपर्ने ६ करोड रकम अझै प्राप्त हुन सकेको छैन । स्वास्थ्यकर्मीहरुका लागि जोखिमभत्ता समेत उपलब्ध हुन सकेको छैन । समयमै रकम भुक्तानी हुन नसक्दा सेवा प्रवाहित हुन सक्ने चिन्ता अस्पताल प्रशासनले गरेको छ । ‘प्राप्त हुनु पर्ने स्थानबाट समयमै रकम प्राप्त नहुने तर भुक्तानी समयमै गर्नु पर्ने संकटले सेवा प्रवाहको चिन्ता थपिन थालेको छ’– अस्पताल प्रशासक प्रधुम्न श्रेष्ठले भन्नुभयो–‘विरामी आएर सेवा दिन नसक्दा लज्जित हुनुको विकल्प छैन । विरामीहरुको सेवा प्रभावित नहोस् भनेर हामी संवेदनशिल छौ तर समस्या पैसाकै छ ।’
कर्मचारीहरुलाई दशैको घटस्थापनाको १५ दिन अघि पेश्की रकम उपलब्ध गराउनु पर्ने प्रावधान छ । भदौ महिनाकै तलब दिन नसकेको अस्पतालले सेवा प्रवाह रोकिन नदिन सरकारलाई ताकेता गरिरहेको छ । असार मसान्तसम्मको विमा बापतको ६ करोडको भुत्तानीको तयारी भए पनि अस्पताललाई परेको २० करोडको संकट परेको छ ।
जोखिम भत्तामा आलटाल
देशभर नाम कमाएको तथा विभिन्न जिल्लाका विरामीलाई समेत कष्टपूर्ण अवस्थाका बाबजुत सहज उपचार प्रदान गरेका धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले कोभिड महामारीको दोश्रो चरण सकिन लाग्दा समेत जोखिम भत्ता प्राप्त गर्न सकेका छैनन । पहिलो चरणको कोभिडको समयमा धुलिखेल अस्पतालमा कोभिड अवधीमा अधिकृत तह भन्दा माथिल्लो पदमा रहेर काम गर्ने चिकित्सक तथा कर्मचारीहरुको २५ प्रतिशत तलब कटौती गरिएको थियो भने अधिकृत तह भन्दा तल्लो तहमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको हकमा १० प्रतिशत तलब कटौती गरिएको थियो । यो वर्ष तलब कटौती नगरिए पनि श्रोत अभावका कारण मासिक हुने भुक्तानी दुई साता पर धकेलिन थालेको छ । तर पनि स्वास्थ्यकर्मी कर्मचारीहरुले अझै कोभिड बापत सरकारले उपलब्ध गराउने भनेको जोखिम भत्ता प्राप्त गर्न सकेका छैनन । २०७८ बैशाख १५ देखि असार मसान्तसम्म धुलिखेल अस्पतालमा कार्यरत ७ सय १७ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई जोखिम भत्ता उपलब्ध गराउनु पर्छ । जसमध्ये डाक्टर १ सय ८९, नर्स २ सय ७४, पारामेडिक्स अन्र्तगत एक्सरे र रेडियोलोजीमा कार्यरत ३१, माईक्रोबायोलोजीमा कार्यरत २९ जना, २४ घण्टा सेवा प्रदान गर्ने २९ जना, आईसोलेसनमा काम गर्ने ४० जना, काउन्टरमा काम गर्ने तथा चालकहरु १७ जना, सहयोगी कर्मचारी ९५ जना र पोस्ट रेजिटेन्ड कन्सल्टेन्सी ११ जना गरी ७ सय १७ जनाले विभिन्न मितिमा कोभिडमा काम गरेको जोखिम भत्ता उपलब्ध गराउन बाँकी रहेको अस्पतालका जय राईले जानकारी दिनु भयो ।





