पनौती, रयाले/पनौती १ रयालेकी सुन्तली तामाङले वर्षाैदेखि शरीरमा रहेको समस्याका कारण मानसिक तनावमा हुनुहुन्थ्यो । शनिबार टेलीउपचार सिफल ८ काठमाडौको टोलीले सुन्तलीको शरीरमा रहेको समस्या विशेषज्ञ टोलीसँगको परामर्शमा समाधानको प्रयास गरेको छ । डाक्टरसँग प्रत्यक्ष कुराकानी गरेसँगै सुन्तली आधा रोग ठिक भएको महसुस भएको बताउनु भयो ।
पहिलो पाईला नेपाल र पनौती नगरपालिकाको समन्वयमा पनौती नगरपालिका वडा नम्वर १ रयालेको स्वास्थ्य चौकीमा टेलीउपचार मार्फत ३५ जना नागरिकले एकैदिन सेवा लिएका छन् । विशेषज्ञ डाक्टरहरु स्त्रीरोग विशेषज्ञ डा. आकृति भारती, कोभिड रोग विशेषज्ञ डा. लक्ष्मी पन्थी र हाड जोर्नी रोग विशेषज्ञ डा. दिपेन्द्र सिंहले नागरिकहरुलाई टेलीउपचार मार्फत निःशुल्क परामर्श दिनु भएको थियो । ‘रयालेका नागरिकहरुको समस्या र आवश्यकताका बारेमा १० दिनसम्म घर–घर सर्भे गरी शनिबारलाई निःशुल्क टेलिउपचार कार्यक्रम राखिएको हो’–टेलिउपचार कार्यक्रमका प्रबन्ध निर्देशक सुरज गिरीले भन्नुभयो–‘नागरिकहरुलाई घरमै बसेर विशेषज्ञहरुको सेवा प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले उक्त कार्यक्रम गाउँमै शुभारम्भ गरिएको हो ।’स्वास्थ्यारम्भ टेलिहेल्थ क्याम्पको उद्घाटन वडा अध्यक्ष गुणनाथ सापकोटाले गर्नु भएको हो ।
विरामीहरुलाई विशेषज्ञ डाक्टरहरुसँग अनलाईन मार्फत स्वास्थ्य जाँच गराउने आधुनिक प्रविधिको रुपमा स्थापित गरिएको मोवाईल एप हो टेलीउपचार । अमेरिकामा बसोबास गर्ने नेपाली दुई युवा सुमन गिरी र सुमन पाण्डेले शुरु गरेको उक्त कार्यक्रम अहिले काठमाडौ उपत्यकामा केहि वर्ष अघि देखि शुरु भएको थियो । टेलिउपचार मार्फत घर तथा अफिसमा बसेर आफ्नो समस्या अनुरुपका विशेषज्ञ डाक्टरहरुसँग मोबाईल, ल्यापटप तथा ट्याबलेटको प्रयोगबाट स्वास्थ्य जाँच गराउन सकिन्छ । शनिबार रयालेमा सहभागी भएका अधिकांश ब्यक्तिहरुको घुँडा तथा हाड जोर्नीको समस्या देखिएको थियो । विशेषज्ञहरु मार्फत सेवा प्रदान गरी उपचारमा सहजता भएसँगै नागरिकहरुमा खुशी देखिएको थियो ।
शिविरमा पुष्पा ज्ञवाली, निलम पाण्डे, हरेराम पन्थी, अरुण शर्मा, अमित चौधरी, स्वास्थ्कर्मी भरत महर्जन र सीता थापा लगायतका चिकित्सकहरुले दाँत तथा अन्य रोगका बारेमा परामर्श दिनु भएको थियो । संस्था मार्फत सहभागी भएका ब्यक्तिहरु, नर्स तथा स्थानीय रयाले स्वास्थ्य चौकीका प्रमुख विष्णुहरी सापकोटा, पत्रकार महासंघका निर्वतमान अध्यक्ष मोतीराम तिमल्सिना, संस्थाका प्रबन्ध निर्देशक सुरज गिरी, प्रशासन प्रमुख मनिषा ज्ञवाली, विद्या थापा लगायतले टेलीउपचारका फाईदा र नागरिकहरुले प्राप्त गर्ने सेवाका बारेमा जानकारी गराउनु भएको थियो । वडा अध्यक्ष सापकोटाले विषम परिस्थितिमा नागरिकहरुलाई सेवा दिने कार्यको प्रसंशा गर्नु भएको थियो ।
सोहि अवसरमा गुर्जाे अभियन्ता आन्तरिक राजश्व कार्यालय काभ्रेका प्रमुख कमलबहादुर राजलवट, अभियन्ताहरु निरा गृहिणी समाजका अध्यक्ष निरा तिम्सेना र हाम्रो सुनौलो संसार बाल आश्रमकी उपाध्यक्ष लक्ष्मी बस्नेत लगायतले स्थानीयहरुलाई गुर्जाेको चिया र विरुवा उपलब्ध गराउनु भएको थियो । टेलीउपचारको एप डाउनलोड गरी त्यसबाट विशेषज्ञ डाक्टरहरुसँग परामर्श लिई स्वास्थ्य लाभ गर्न उक्त टोलीले अनुरोध गरेको निर्देशक सुरज गिरीले बताउनु भयो । विभिन्न स्थानमा टेलीउपचारका बारेमा जानकारी गराउने गिरीले बताउनु भयो ।





