धुलिखेल/भुकम्पले क्षतविक्षत बनाएका सामुदायिक विद्यालयहरु धमाधम पुनर्निर्माण हुँदैछन् । भुकम्प गएको पाँच वर्षको अवधिमा जिल्लामा रहेका ५ सय ३५ वटा सामुदायिक विद्यालयका ५ सय ६० वटा भवन मध्ये ३ सय ५१ वटा विद्यालयका ४ सय ४९ वटा भवन पुनर्निर्माण सम्पन्न भएको छ । पुनर्निर्माणका लागि ७ अर्ब ६६ करोड २० लाख रुपैया खर्च भएको छ भने निर्माणाधीन भवनहरुका लागि १० करोड ५४ लाख अपुग छ ।
जिल्ला आयोजना कार्यान्वयन इकाईका (शिक्षा) प्रमुख देवकुमार बरालले निर्माणाधीन १ सय ७ वटा विद्यालयको पुनर्निर्माण भईरहेको बताउनु भयो । निर्माणाधीन मध्ये ३ वटा टेण्डर भईसकेको छ भने १६ वटा काम शुरु हुन बाँकी छ । निर्माण सम्पन्न भएका ५ सय ६० वटा भवनमा २ हजार ६ सय ५३ वटा कक्षा कोठा निर्माण भएका छन् । कार्तिक महिनाबाट प्राधिकरणले निर्माणको कार्य हस्तान्तरण गर्ने तयारी गरेसँगै निर्माण जारी रहेका विद्यालय भवन तथा शौचालय निर्माणलाई स्थानीय तहमा हस्तान्तरणको तयारी भएको छ । ५० वटा शौचालय निर्माणाधीन रहेको छ । विद्यालय पुनर्निर्माण विद्यालय ब्यवस्थापन समितिबाट २ सय २९ वटा, एडिबीको ऋणबाट ३८ वटा, गैरसरकारी संस्थाबाट ९२ वटा विद्यालय पुनर्निर्माण गरिएको हो । विद्यालय ब्यवस्थापन समितिबाट ६५ वटा शौचालय निर्माण सम्पन्न भएका थिए ।
पुनर्निर्माणका लागि गैसस मार्फत १ अर्ब २३ करोड ६४ लाख रुपैयाँ खर्च भएको छ भने भारत सरकार मार्फत ६० करोड ७० लाख खर्च भएको छ । त्यस्तै एशियाली विकास बंैकको ईईएपी कार्यक्रम अन्र्तगत २ अर्ब ७० करोड, डिआरएसी प्रथम खण्डबाट ६२ करोड ८८ लाख २८ हजार, दोश्रो खण्डबाट ५९ करोड ७३ लाख, तेश्रो खण्डबाट २८ करोड ७१ लाख, रेट्रोफिटिङ्गका लागि ७ करोड ३७ लाख रुपैयाँ पुनर्निर्माणका लागि खर्च भएको छ ।
बनेपा नगरपालिकामा १६ वटा विद्यालयमा १ सय ८ वटा कक्षा कोठा निर्माण भएका छन् भने बेथान्चोक गाउँपालिकामा १६ वटा विद्यालयमा १ सय ९ वटा कक्षाकोठा निर्माण भएका छन् । भुम्लु गाउँपालिकामा २४ वटा विद्यालयमा १ सय ७४ वटा कक्षा कोठा निर्माण भएका छन् । चौरीदेउराली गाउँपालिकामा १९ वटा विद्यालयमा १ सय ५५ वटा कक्षाकोठा, धुलिखेल नगरपालिकामा १६ वटा विद्यालयमा १ सय ५० वटा कक्षा निर्माण भएका छन् । खानिखोला गाउँपालिकामा २६ वटा विद्यालयमा १ सय १० वटा कक्षा कोठा निर्माण भएका छन् । महाभारत गाउँपालिकामा ३८ वटा विद्यालयमा २ सय ९८ वटा कक्षा कोठा निर्माण भएका छन् । मण्डनदेउपुर नगरपालिकामा २८ वटा विद्यालयमा २ सय २८ वटा कक्षा कोठा निर्माण भएका छन् । नमोबुद्ध नगरपालिकामा २५ वटा विद्यालयमा १ सय ९३ वटा कक्षा कोठा, पनौती नगरपालिकामा १३ वटा विद्यालयमा ८८ वटा कक्षा कोठा, पाँचखाल नगरपालिकामा २५ वटा विद्यालयमा १ सय ९० वटा कोठा र रोशी गाउँपालिकामा ४३ वटा विद्यालयमा २ सय ५८ वटा कोठा, तेमाल गाउँपालिकामा २० वटा विद्यालयमा १ सय ६७ वटा कक्षा कोठा निर्माण भएका छन् ।
विद्यालय भवन निर्माणका लागि बनेपामा २० करोड ८६ लाख, बेथान्चोकमा १८ करोड ९ लाख, चौरीदेउराली ४७ करोड ६७ लाख, भुम्लु गाउँपालिका ४० करोड ५५ लाख, धुलिखेलमा १ अर्ब ३९ लाख, मण्डनदेउपुरमा ५८ करोड २२ लाख, नमोबुद्ध ४३ करोड ५१ लाख, पनौती २२ करोड ३३ लाख, पाँचखाल ५३ करोड ७३ लाख, रोशी ४७ करोड २ लाख, खानीखोला १७ करोड ३५ लाख, महाभारत ७४ करोड ५२ लाख, तेमाल ३२ करोड ६८ लाख रुपैयाँ खर्च भएको छ ।
२०७२ बैशाख १२ नजिकिदै गर्दा भुकम्पको क्षति र पुनर्निर्माणको समीक्षा गर्ने क्रम शुरु भएको छ । सरकारले निजी आवासको किस्ता कार्तिक महिनाको अन्तिमसम्म तोकिसकेको छ । अन्य पुनर्निर्माणका कार्यहरु पनि स्थानीय तथा प्रदेश सरकारलाई हस्तान्तरणको तयारी शुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समय अवधि छोटिदै गए पछि पुनर्निर्माणको कार्यलाई तिब्रता दिएको छ । इन्जिनियर श्रेया झाका अनुसार जिल्लाका अधिकांश विद्यालयहरु पुनर्निर्माणबाट लाभान्वित भएका छन् । विद्यालयमा एडिबीको ऋण र नेपाल सरकारको सहयोगमा डिआरएसपी कार्यक्रम अन्तर्गत रेट्रोफिट कार्यक्रम सम्पन्न भएको इन्जिनियर झाले बताउनु भयो ।





