2026 August 24/ 07:58: 45am

    नमोबुद्ध, भकुण्डे/नमोबुद्ध नगरपालिका वडा नम्वर २ मा स्थापना भएको भकुण्डे ह्युमपाईप उद्योगले गुणस्तरीय पाईप उत्पादन शुरु गरेको छ । झण्डै तीन करोड लगानीमा स्थापना भएको उद्योग वातावरणमैत्री छ । स्थानीय युवाहरुको लगानीमा शुरु भएको उद्योगले काभ्रे लगायत आसपासका जिल्लाको विकास निर्माणमा योगदान पु¥याउन शुरु गरेको छ । 
    २५ रोपनी जमिन भाडामा लिएर शुरु गरिएको उद्योगमा विभिन्न साईजका पाईपहरु उपलब्ध छन् । प्रविधिमैत्री उद्योगका रुपमा स्थापना गरी गुणस्तरीय सेवा दिने लक्ष्य राखिएको संचालक प्रकाश सत्यालले बताउनु भयो । ‘राजनीतिमा सक्रिय हुँदाहुँदै ब्यवसायीक जीवन शुरु गर्ने उद्देश्यले ह्युम पाईप उद्योग शुरु गरिएको हो’–संचालक प्रकाश सत्यालले भन्नुभयो–‘स्थानीयहरुको जमिन १० वर्ष भाडामा लिएर केहि ब्यक्तिहरुको साझेदारीमा उद्योग शुरु गरिएको हो ।’ समृद्ध राष्ट्र निर्माणमा आवश्यक पर्ने ह्युम पाईप उत्पादनका लागि जिल्लाको दोलालघाट, सिपाघाटका क्षेत्रमा मात्रै शुरु भएको उद्योग नमोबुद्धमा शुरु भए पछि थप सहज बनेको हो । विपी राजमार्गमा ठुला सवारी चल्न नपाउने कारण उद्योगमा स्थापना भएका सामाग्री सहज ढुवानी हुन सकेका छैनन् । तर पनि उद्योगले रामेछाप, सिन्धुली, दोलखा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकको अलावा उपत्यकाका विभिन्न स्थानमा सामाग्री निर्यात गरिरहेको छ । 
    उद्योगमा २५ जना मजदुर कार्यरत छन् । विदेशिने श्रम र पुँजीको निर्यात रोक्न उद्योगले थप सहयोग पु¥याएको संचालक कृष्णहरी आचार्यले बताउनु भयो । डेढ करोड लगानीमा शुरु भएको उद्योगमा थप डेढ करोड लगानी भएको छ । सिमेन्ट, बालुवा, गिट्टी, खोटो, डिजेल मार्फत निर्माण हुने ह्युम पाईपको गुणस्तरमा कमी हुन नदिएको ब्यवस्थापक गौतम सत्यालले बताउनु भयो । ब्यवसायीहरुले आवश्यक पाईपको अर्डर गरेको केहि समय पछि मात्रै बजारमा पठाउने गरिएकाले गुणस्तर कायम हुन सकेको संचालक प्रकाश सत्यालले बताउनु भयो । विल्कुल नयाँ र फरक ब्यवसाय शुरु गरेको भए पनि एक वर्ष भित्रै सन्तुष्ट हुने अवस्थामा पुगेको उहाँले बताउनु भयो । धुलिखेल देखि काभ्रेभञ्ज्याङ्गसम्मको सडकमा १० चक्के सवारी साधन चल्न दिए पनि भकुण्डेसम्म नदिएकाले समस्या भएकाले सरोकारवाला निकायले उक्त क्षेत्रलाई भकुण्डेसम्म पु¥याई स्थानीय र ब्यवसायीहरुका लागि सहज बनाउनु पर्नेमा ब्यवसायी कृष्णहरी आचार्यले बताउनु भयो ।