धुलिखेल बन्द हड्ताल मुक्त शहर घोषणा
धुलिखेल नगरपालिकाले नगर सभाको नवौं अधिबेशन बजेट, नीति तथा कार्यक्रम, विधेयक र विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । असार ७ गते शुरु भएको अधिबेशनका तीनवटा बैठक आयोजना गरिएको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो ।
अधिबेशनमा प्रस्तुत नगरपालिकाका नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेट सर्वसम्वत पारित भएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । प्रस्तुत भएका विधेयकहरुमा पनि सभाका सदस्यहरुले धारणा राखेका थिए । अधिबेशनको तेश्रो बैठकमा सदस्यहरुले शुन्य समय उपलब्ध गराईएको थियो । शुन्य समयमा आनन्द सागर यगोल श्रेष्ठ, गणेश आचार्य, मन्दिप गौतम र हिरा तामाङले नगरपालिकाले गरिरहेका गतिविधिहरु मार्फत नागरिक लाभान्वित भएको बताउनु भयो । अधिबेशनको तेश्रो बैठकले धुलिखेल नगरपालिकाको सार्वजनिक निजी साझेदारी (योजना संचालन तथा ब्यवस्थापन) विधेयक २०७८, नगरपालिकाको सूचना तथा अभिलेख केन्द्र (स्थापना र संचालन) विधेयक २०७८, धुलिखेल नगरपालिकाको आन्तरिक कार्यप्रणाली (ब्यवस्थापन र नियन्त्रण) विधेयक २०७८ र धुलिखेल नगरपालिकाको सरसफाई तथा फोहोरमैला ब्यवस्थापन विधेयक २०७८ सर्वसम्वतीले पास गरेको छ । नगरपालिकाले चार वर्षको अवधीमा ७० वटा भन्दा धेरै विधेयक, कार्यविधि र कानुन निर्माण गरिसकेको प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेलले बताउनु भयो ।
त्यस्तै शुन्य समयमा उठेका विषयमा नगर प्रमुख अशोक ब्याञ्जुले जवाफ दिनु भएको थियो । चार वर्षमा भएका काम सन्तोषजनक रहेको र आगामी वर्ष विनियोजन भएका योजनाहरु समयमै कार्यान्वयन गरिसक्ने बताउनु भयो । एक घर एक धाराको कार्य अन्तिम चरणमा पुगेको बताउँदै नगर प्रमुख ब्याञ्जुले समाजबाद उन्मुख विकासका कार्यहरु शुरु गरेको बताउनु भयो । शिक्षाको स्नातक तहसम्म निशुल्क, नागरिकहरुलाई घर दैलो सेवा तथा दुःखसुखमा नगरपालिका अभिभावक बनिरहेको बताउँदै महत्वकाँक्षी केहि योजनाहरु आगामी वर्ष शुरु हुने बताउनु भयो । स्वास्थ्य विमा, निःशुल्क डाईलोसिस सेवा तथा स्वस्थ शहर निर्माण, प्रविधि सहितको सेवामा नगरपालिकाले नागरिकहरुको आयआर्जनमा ध्यान दिएको उहाँले बताउनु भयो । अधिबेशनमा नगर उपप्रमुख विमला शर्माले महिला तथा विपन्न नागरिकहरुका लागि नगरपालिकाले सहजिकरण गर्दै सेवा उपलब्ध गराएको बताउनु भयो । नगर सभाको अधिबेशनले विशेष २८ वटा प्रस्ताव पास गरेको छ ।
उद्योग सञ्चालन गर्न लिजमा जग्गा उपलब्ध गराउने, लिक्वीड ग्यांस उद्योग स्थापना, मञ्जुश्री पार्क तथा तामाङ संग्रहालय निर्माण, धुलिखेल, श्रीखण्डपुर र ईटेलाई बिशेष संरक्षित क्षेत्र बनाउने, श्रीखण्डपुरको २०३४ सालको नापीमा नापी हुन छुट जग्गाहरुको नापजाँच गर्ने सम्बन्धमा, वि.पि.हाईवेको दायाँ बायाँ १०–१० मिटर मुआब्जा सहितको अधिग्रहण सम्बन्धमा, पर्यटकमैत्री शहर घोषणा र सोको कार्यक्रम सम्बन्धमा, सूर्यविनायक देखि धुलिखेलसम्म ६ लेनको सडक निर्माण गर्ने, धुलिखेलको उपयुक्त स्थानमा स्मार्ट प्रबिधि सहितको कृषि उपज बजार स्थल निर्माण गर्ने, धुलिखेल नगरमा ब्यवस्थित बधशाला निर्माण, धुलिखेल नगरमा माउण्टेनियरिङ स्पोर्टस् सेन्टर निर्माण र धुलिखेल नगर क्षेत्रलाई सबै प्रकारका बन्द हड्ताल मुक्त शहर घोषणा गर्ने निर्णय गरेको छ ।
नगर सभाले सभा समक्ष विशेष प्रस्तावहरु पारित गरेको छ । विशेष प्रस्तावहरुमा बिभिन्न किसिमका मोटर उद्योग सञ्चालन, लिक्वीड ग्यांस उद्योग स्थापना, मञ्जुश्री पार्क तथा तामाङ संग्रहालय निर्माण, धुलिखेल, श्रीखण्डपुर र ईटेलाई बिशेष संरक्षित क्षेत्र बनाउने, श्रीखण्डपुरको २०३४ सालको नापीमा नापी हुन छुट जग्गाहरुको नापजाँच गर्ने सम्बन्धमा, वि.पि.हाईवेको दायाँ बायाँ १०–१० मिटर मुआब्जा सहितको अधिग्रहण सम्बन्धमा, पर्यटकमैत्री शहर घोषणा र सोको कार्यक्रम सम्बन्धमा, सूर्यविनायक देखि धुलिखेलसम्म ६ लेनको सडक निर्माण गर्ने, धुलिखेलको उपयुक्त स्थानमा स्मार्ट प्रबिधि सहितको कृषि उपज बजारस्थल निर्माण गर्ने, धुलिखेल नगरमा ब्यवस्थित बधशाला निर्माण तथा एकिकृत मासु पसल सञ्चालन, धुलिखेल नगरमा माउण्टेनियरिङ स्पोर्टस् सेन्टर निर्माण, धुलिखेल नगरक्षेत्रलाई सबैप्रकारका बन्द हड्ताल मुक्त शहर घोषणा, व्यवस्थित बसपार्क निर्माण, धुलिखेल खेलमैदान निर्माण, नमूना आवास शहर निर्माण, नगर बस सञ्चालन, सम्पदा संरक्षण (गौखुरेश्वर, कालिदेवी, महांकाल, संखु मन्दिर, देविस्थान (देवीटार), एक वडा एक डिजिटल स्कूल, कला साहित्य संगीतको विकास, नगरक्षेत्रका शिक्षक विद्यार्थीको छुट्टै ड्रेसकोड, नेपाल भाषा र तामाङ भाषामा आधारभूत शिक्षा दिन शुरुआत, शैक्षिक संग्रहालय स्थापना, सामुदायिक विद्यालयमा पढाउने अभिभावकलाई १० प्रतिशत राजश्व छुट, एक वन एक पर्यापर्यटन र कृषि वन निर्माण, नगर चक्रपथ निर्माण, शहरी सेवा केन्द्र निर्माण, अन्तर नगर साझेदारी कार्यक्रम सञ्चालन (धुलिखेल देविटार देखि पांचखालको पलाञ्चोक भगवती केवुलकार सञ्चालन र धुलिखेल देविस्थानदेखि नमोबुद्धसम्म केवुलकार सञ्चालन), कलरफूल सिटी बनाउन शुरुआत गर्ने रहेका छन् ।





