2026 August 24/ 06:31: 57am

    धुलिखेल/धुलिखेल नगरपालिकाले नगर भित्रका सबै शैक्षिक संस्थामा स्नातक तहसम्मको शिक्षा निःशुल्क गर्ने निर्णय अनुसार क्याम्पसहरुलाई छात्रवृत्ति बापतको रकम उपलब्ध गराएको छ । कक्षा १ देखि १२ कक्षासम्मको शिक्षा निःशुल्क भए पनि स्नातक तहको शिक्षामा नगरपालिकाले छात्रवृत्ति उपलब्ध गराएको हो । 
    ‘नगर भित्रका स्थायी बासिन्दाहरु सबैलाई निःशुल्क शिक्षाको पहुँच पु¥याउने उद्देश्यले कक्षा १ देखि स्नातक तहसम्मको शिक्षामा निःशुल्क गर्ने ब्यवस्था मिलाएका छौं’–नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘उच्च शिक्षा हासिलका लागि स्थानीय सरकार अभिभावक बन्नुपर्छ भन्ने सोचका साथ नगर भित्र रहेका दुईवटा क्याम्पसमा अध्ययन गर्ने धुलिखेल स्थायी घर भएका विद्यार्थीहरुका लागि छात्रवृत्ति उपलब्ध गराएका हौं ।’ झण्डै ३ सय भन्दा धेरै विद्यार्थीहरु संजीवनी क्याम्पस र धुलिखेल क्याम्पसमा अध्ययन गरिरहेका छन् । नगरपालिकाले दुबै क्याम्पसका लागि सोमबार ८÷८ लाख रुपैयाँ छात्रवृत्ति बापत उपलब्ध गराएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । निर्वाचनको समयमा जनतासँग गरेको प्रतिबद्धता पूरा हुँदै गएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । शिक्षा, स्वास्थ्य, रोजगार, खानेपानी, सडक तथा अन्य पूर्वाधार निर्माणमा धुलिखेलले उल्लेख्य सफलता हासिल गरेको छ । 
    नगरपालिकाले उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम मार्फत उक्त रकम उपलब्ध गराएको प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेलले बताउनु भयो । शिक्षा, ब्यवस्थापन, विज्ञान, आर्टस् लगायतका संकायमा दुबै क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुले उक्त रकम मार्फत निःशुल्क अध्ययन गर्ने अवसर प्राप्त गरेको प्रमुख प्रशासकीय अधिकृत लुईटेलले बताउनु भयो । धुलिखेल नगरपालिका भित्र वडा नम्वर २ को रविओपीमा सेतिदेवी मावि, वडा नम्वर ५ को श्रीखण्डपुरमा श्रीखण्डपुर मावि, वडा नम्वर ६ मा पूर्ण सञ्जिवनी मावि, वडा नम्वर ७ मा धुलिखेल क्याम्पस र सञ्जीवनी मावि, धुलिखेल ११ मा हनुमान माविमा कक्षा १२ सम्मको अध्ययन भईरहेको छ । सरकारले सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीहरुका लागि निःशुल्क शिक्षा प्रदान गर्ने घोषणा गरेको छ । सोहि घोषणा अनुसार अन्य प्राविधिक विषय बाहेक अधिकांश विद्यालयहरुले निःशुल्क शिक्षा प्रदान गरिरहेका छन् । 
    सञ्जीवनी माध्यमिक विद्यालयमा प्राविधिक विषय सिभिल इन्जिनियर र विज्ञान विषय कक्षा १२ सम्म पढाई भईरहेको छ । थप अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि पनि धुलिखेलमा रहेका क्याम्पसहरुमा निःशुल्क अध्ययन गर्ने गरी क्याम्पसलाई एकमुष्ट छात्रवृत्ति रकम उपलब्ध गराईएको शिक्षा शाखा प्रमुख उप सचिव माधव शर्माले बताउनु भयो । विद्यार्थीहरुको शैक्षिक गुणस्तर बृद्धि तथा निःशुल्क शिक्षाको पहुँच हरेक नागरिकहरुलाई पु¥याउने उद्देश्य अनुरुप उक्त कार्यक्रम शुरु गरिएको उपसचिव शर्माले बताउनु भयो । नगरपालिकाले विद्यार्थीहरुलाई हरेक क्षेत्रमा उत्कृष्ट बनाउने गरी विभिन्न कार्यक्रम अन्र्तगत मेयरसँग विद्यार्थी कार्यक्रम संचालन गरेको थियो । दिवा खाजाको ब्यवस्थापन, पूर्वाधार निर्माण तथा विद्यालयको शैक्षिक जनशक्तिको ब्यवस्थापन गरिरहेको शिक्षा शाखाका भोजकुमार ठकुरीले बताउनु भयो । कक्षा १ देखि ११ सम्म ४ हजार ३ सय विद्यार्थी अध्ययन गरिरहेका छन् । धुलिखेलमा निजी तथा सामुदायिक विद्यालयमा झण्डै ६ हजार विद्यार्थी विभिन्न तहमा अध्ययनरत छन् ।