2026 August 26/ 11:52: 51am

बालबालिका बचाउन पूर्व तयारी
    कोभिड १९ संक्रमण नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्रले विभिन्न संघ संस्थाहरु मार्फत प्राप्त स्वास्थ्य सामाग्रीहरु स्थानीय सरकार मार्फत स्वास्थ्य संस्थालाई उपलब्ध गराउने निर्णय गरेको छ । तेश्रो चरणको संक्रमणका बेला बालबालिकाहरु जोखिममा पर्न सक्ने भन्दै बालबालिकाहरु बचाउन पूर्व तयारी गरिएको हो । 
    पहिलो चरणको संक्रमणबाट जेष्ठ नागरिकहरुको निधन भएको थियो । संक्रमण धेरै भए सँगै जेष्ठ नागरिकहरुका लागि खोप लगाउने कार्यक्रम शुरु भयो । दोश्रो चरणको संक्रमणमा युवाहरु धेरै जोखिममा परे । उनिहरु खोपको प्राथमिकतामा थिएनन् । सरकारले सबै देशहरुसँग खोपको प्रस्ताव गरे सँगै नेपालमा खोप आउँदा बालबालिकाहरु मात्रै जोखिम समुहमा पर्ने देखिएको छ । संक्रमण भए पनि खोपका कारण जोखिम कम हुने तथ्याङ्कले देखाए पछि सरकारले सबै नागरिकहरुलाई खोप लगाउने ब्यवस्था गर्न लागेको हो । १८ वर्ष भन्दा कम उमेर समुहका बालबालिकाहरुका लागि सरकारले देशभरका अस्पतालहरुलाई उपचार प्रभावकारी बनाउन भएका शैयाहरु मध्ये २० प्रतिशत शैया बालबालिकाहरुका लागि तयारी अवस्थामा राख्न निर्देशन दिएको हो । काभ्रेमा रहेका प्रमुख तीन अस्पताल धुलिखेल, बनेपाको शिर र मेथिन्कोट अस्पताल त्यसको प्राथमिकतामा परेका छन् । 
    संकट ब्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ संक्रमणबाट बिरामी भएकाहरुको जीवन रक्षाको लागि काभ्रे सेवा समाज, साउदी अरबको तर्फबाट प्राप्त अक्सिजन कन्सन्ट्रेटर १२ थान र काभ्रे सम्पर्क समिति, दक्षिण कोरियाको तर्फबाट प्राप्त अक्सिजन सिलिण्डर २६ थान र पि.पि.ई. सेट २६ थान पालिकामा रहेका स्वास्थ्य संस्थाहरुमा पठाउने निर्णय गरेको छ । बैठकले पनौती नगरपालिकाको खोपासी स्वास्थ्य चौकीमा अक्सिजन कन्सन्टे«टर १ थान, सिलिण्डर २ थान र पिपिई सेट २ थान उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै पाँचखाल नगरपालिकाको पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र र मण्डन देउपुर नगरपालिकाको आईसोलेसन सेन्टरमा एक÷एक थान अक्सिजन कन्सन्ट्रेटर, २÷२ थान सिलिण्डर र २÷२ थान पिपिई सेट उपलब्ध गराउने निर्णय गरेको छ । 
    बैठकले विकट क्षेत्र डाँडापारीको महाभारत गाउँपालिका र कोशिपारीको चौरीदेउराली गाउँपालिकाको माझीफेदा र धुशेनीशिवालय अस्पतालका लागि २÷२ थान अक्सिजन कन्सन्ट्रेटर, २÷२ वटा सिलिण्डर र २÷२ थान पिपिई सेट उपलब्ध गराउने निर्णय भएको छ । उक्त सामाग्री गाउँपालिकाको घर्तिछाप स्वास्थ्य चौकीमा रहेको आईसोलेसन सेन्टरमा प्रयोग हुनेछ । डाँडापारीकै खानीखोला गाउँपालिकाको ताल्ढुंगा स्वास्थ्य चौकी, बेथानचोक गाउँपालिकाको ढुंखर्क स्वास्थ्य चौकी, तेमाल गाउँपालिकाको पोखरी नारायणस्थान स्वास्थ्य चौकी, रोशी गाउँपालिकाको खहरे पांँगु स्वास्थ्य चौकी र भुम्लु गाउँपालिकाको भुम्लुटार प्राथमिक अस्पतालमा १÷१ थान अक्सिजन कन्सन्ट्रेटर,२÷२ वटा सिलिण्डर र २÷२ थान पिपिई सेट उपलब्ध गराउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनु भयो । 
    बैठकले आगामी दिनमा कोभिड १९ को संक्रमण दर बालबालिकाहरुमा ंउच्च हुने प्रक्षेपण गरिएको सन्दर्भमा धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल र मेथिन्कोट अस्पताल लगायत जिल्ला स्थित अस्पतालहरुलाई २० प्रतिशत बेडहरु छुट्याउन अनुरोध गर्ने निर्णय गरेको छ । नेपाली तथा विदेशी नागरिकहरु विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड र नेपाल सरकारबाट जारी गरिएको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ का बारेमा बैठकमा जानकारी गराई कार्यान्वयन गर्ने निर्णय भएको छ । त्यस्तै जिल्लामा हालसम्म कोभिड १९ संक्रमण व्यवस्थापन सम्बन्धमा यस अघि गरिएका निर्णयहरुको समीक्षा गरेको छ । अस्पताल प्रशासन तथा स्थानीय तहहरुबाट स्वास्थ्य संस्था तथा आइसोलेशन सेन्टरहरुको अझ प्रभावकारी व्यवस्थापन भइरहेको साथै कोभिड–१९ संक्रमितहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु माथि हुन सक्ने गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्न पूर्व सावधानी अपनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनु भयो । 
    बैठकमा जिल्ला समन्वय समितिको कार्यालय, काभ्रेका प्रमुख उद्धव केसी, धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठको विशेष उपस्थिति रहेको थियो भने सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवार, समन्वय अधिकारी केशव प्रसाद रिजाल, कालिजंङ्ग गणका गणपति कर्णेल मिलन थापा, सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हेडक्वाटरका प्रमुख एसपी महेश के.सी., जिल्ला प्रहरी कार्यालयका डिएस्पी हरि खतिवडा, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख अनुसन्धान अधिकृत अरुण कार्की, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झा लगायतको सहभागिता रहेको थियो । धुलिखेल नगरपालिका उपप्रमुख विमलाकुमारी शर्मा चौलागाईको पनि बैठकमा सहभागिता रहेको थियो ।