2026 August 25/ 10:37: 34am

४५ वटा घटना दर्ता, ३७ को निधन
मोतीराम तिमल्सिना
धुलिखेल

    काभ्रेपलाञ्चोक जिल्लामा २०७८ बैशाख १९ गते देखि जारी निषेधाज्ञाका बीच पनि अपराधिक घटनामा कमी आएका छैनन् । डेढ महिनाको अवधिमा कोभिड बाहेक विभिन्न अपराधमा संलग्न १५ ब्यक्ति पक्राउ परेका छन् भने ३७ जनाको निधन भएको छ । प्रहरीले अपराधमा संलग्न फरार केहि ब्यक्तिको खोजी गरिरहेको बताएको छ । 
    ‘निषेधाज्ञाको अवधिमा जिल्लामा कर्तब्य ज्यान, जर्बजस्ती करणी उद्योग, जर्बजस्ती करणी, अभद्र ब्यवहार, चोरी, बालयौन दुरुपयोगका घटना भएका छन्’–प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले भन्नुभयो–‘सवारी दुर्घटनाबाट अंगभंग, सवारी ज्यान, सवारी भवितब्य ज्यान, गौबध लगायतका घटना भए ।’ अधिकांश घटनामा संलग्न ब्यक्तिहरु पक्राउ परिसकेका छन् । सवारी दुर्घटनाबाट अंगभंग गराउने एक र गौबध अभियोगमा संलग्न एक गरी दुई जना फरार छन् । यो अवधीमा ४५ वटा घटना दर्ता भएका छन् । प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाले निषेधाज्ञाको अवधीमा अपराधमा संलग्न ब्यक्तिहरुको पहिचान गरी नियन्त्रणमा लिएको बताउनु भयो । जस्तोसुकै परिस्थितिमा पनि नागरिकहरुलाई जिउधनको सुरक्षाका लागि प्रहरीले शान्ति सुरक्षा कायम राख्न नियमित गस्ति, अनुसन्धान र परिचालन गरिरहेको प्रहरी प्रवक्ता डिएस्पी खतिवडाले बताउनु भयो ।     निषेधाज्ञा अवधीमा दर्ता भएका सबैभन्दा धेरै घटना झुण्डिएर मृत्यु भएकाहरुको हो । जिल्लामा सबै भन्दा धेरै घटना आत्महत्याका छन् । झुण्डिएर १० जनाले ज्यान गुमाए भने विषादी सेवन गरेर ५ जनाले ज्यान गुमाए । लडेर निधन हुनेहरुको संख्या तीन छ । विषालु च्याउ खाएर ३ जनाको निधन भएको छ । आगोले जलेर दुई जनाले ज्यान गुमाए । खोलामा पौडी खेल्दा डुबेर चार जनाको ज्यान गएको छ । अन्य कारणबाट ५ जनाले ज्यान गुमाए । कोरोना भाईरसको संक्रमणबाट नागरिकहरुको ज्यान बचाउन राज्य संयन्त्र सक्रिय छ तर जिल्लामा आत्महत्या गरेर मर्नेहरुको संख्या उल्लेख्य छ । भवितब्य घटनामा मर्नेहरु, सवारी दुर्घटनामा मर्नेहरु पनि छन् । डेढ महिनाको अवधीमा ३७ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरु मध्ये २४  पुरुष्, ९ महिला, २ बालक र २ बालिका छन् । 
    जर्बजस्ति करणी र जर्बजस्ति करणी उद्योगमा एक÷एक जना पक्राउ परेका छन् । निषेधाज्ञाको अवधीमा अवसर छोपी बालयौन दुरुपयोग गर्ने, जर्बजस्ति करणी गर्न खोज्ने र जर्बजस्ति करणी गर्नेहरुलाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ । कर्तब्य ज्यान मुद्दाका दुई घटनामा १ पुरुष र १ महिलाको निधन भएको छ । श्रीमतीलाई खाडल खनेर पुर्ने श्रीमान, ससुरा २ जना पक्राउ परेका छन् भने एकजना महिला श्रीमान् मारेको अभियोगमा पक्राउ परेकी छिन् । चोरीका दुईवटा घटना भए । प्रहरीको सक्रियता रहँदा रहँदै रातको समय पारी पसल तथा घरमा चोरी भएको छ । जसमा संलग्न एक ब्यक्ति पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।     अभद्र ब्यवहारमा सबैभन्दा धेरै ८ जना ब्यक्ति पक्राउ परेका छन् ।
    प्रहरीले निषेधाज्ञा अवधीमा अभद्र ब्यवहार गर्ने ब्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । गौबध घटनामा संलग्न भएको अभियोगमा मुद्दा दर्ता भएका एक ब्यक्ति फरार छन् । प्रहरीले उनको खोजीमा प्रहरी परिचालन गरेको छ । संक्रमणको जोखिम भएका कारण प्रहरीले फरार अपराधीहरु खोज्ने क्रमलाई सुस्त बनाएको छ । बनेपाको तरकारी बजारमा गाडीले ठक्कर दिएर भाग्ने सवारी साधन र चालकको खोजी गरिरहेको छ । उक्त घटनामा संलग्न ब्यक्ति पक्राउ परेका छैनन् । दुर्घटनामा घाईते मध्ये एक जनाको निधन भएको छ । अर्का एक घाईते छन् । रविओपीबाट तरकारी लिएर बनेपा आएका एक पुरुष फर्कने क्रममा बाटो काट्ने क्रममा हाईलक्स गाडीले ठक्कर दिएर भागेको थियो । उनको उपचारको क्रममा निधन भएको थियो । 
    सरकारले विभिन्न घटनामा संलग्न ब्यक्तिहरुलाई पक्राउ गर्दा वा अन्य घटनाका साक्षी प्रमाणहरुलाई अदालत उपस्थित गराउँदा लाग्ने यातायात खर्च प्रहरी कार्यालय मार्फत भुक्तानी गर्ने गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले चालु वर्षको ११ महिनामा ६ सय ७ जनाले जिल्ला अदालत काभ्रेपलाञ्चोकमा साक्षी वकपत्र गरे बापत ३ लाख ५९ हजार ९ सय ३० रुपैयाँ प्राप्त गरेका छन् । नागरिकहरुको पहिलो कर्तब्य घटना लगत्तै प्रहरीलाई जानकारी गराउने र घटनाका बारेमा प्रत्यक्ष भए सविस्तार सूचना दिई अनुसन्धानमा सहयोग गर्ने हो । त्यहि सहयोगलाई प्रहरीले प्रमाणका रुपमा अनुसन्धानका क्रममा प्रमाणित गराए पछि अदालतमा न्यायाधीशहरु समक्ष समेत पुष्टि गराउँछ । त्यहिक्रममा आफ्नो काम छाडेर राज्यलाई सहयोग गरे बापत् सरकारले यातायात खर्च बापत रकम उपलब्ध गराउने गरेको छ । प्रहरी कार्यालय काभ्रे मार्फत चालु वर्षको ११ महिनामा ६ सय ७ जनाले साक्षी बकपत्र मार्फतको रकम बुझिसकेको प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताउनु भयो ।