लक्ष्मण तिमल्सिना
बनेपा
कोभिड १९ को महामारीमा चिकित्सा विज्ञानसँगै आयुर्वेद सम्बन्धी ज्ञानले ब्यापकता प्राप्त ग¥यो । सदियांै वर्ष देखि घर आँगन छेउमा हुने जडिबुटीहरुको प्रयोग छाडेर नेपालीहरु औषधीतर्फ केन्द्रित भईसकेका थिए । कोरोना महामारीले घर आँगनमा हुने हरेक खालका जडिबुटीहरु स्वास्थ्यबर्धक छन् भन्ने पुष्टि गरेको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाले पनि कोभिड १९ को महामारी नियन्त्रणमा उल्लेख्य योगदान पु-याएको छ । स्वास्थ्य केन्द्र बनेपाका प्रमुख डा. मनोजकुमार चौधरीले सरकारले २०७६ चैत्र ११ देखि मुलुकमा लकडाउन गरेसँगै स्थानीय सरकारले स्थापना गरेको क्वारेन्टाईनमा पुगी आयुर्वेद औषधीहरु हस्तान्तरणका साथै आयुर्वेदको माध्यमबाट योग, ध्यान र प्राणायम सिकाएको बताउनु भयो । गत आर्थिक वर्षको चार महिनामा मात्रै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाबाट मात्रै ३ सय ३६ जनाले कोभिडसँग सम्बन्धित रहेर सेवा लिएको डा. मनोजकुमार चौधरीले बताउनु भयो । जिल्लामा धुलिखेल, बनेपा, मंगलटार लगायतका क्षेत्रमा आयुर्वेदका कार्यालयहरु छन् । जसबाट कोभिडसँग सम्बन्धित रहेर ब्यक्तिको क्षमता बृद्धि गर्ने, कोभिडका लक्षणहरुसँग मिल्ने रोगका आयुर्वेद औषधीहरु प्रयोग गर्दा कोभिड सजिलै जित्न सकिएको संक्रमतिहरुले बताएका छन् । कोभिड १९ को हालसम्म कुनै पनि औषधी फेला नपरेका कारण आयुर्वेद औषधीहरु गुर्जाे लगायतका महत्वपूर्ण आयुर्वेदले कोभिड नियन्त्रणमा सहज भएको डा. चौधरीले बताउनु भयो ।
आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाले आर्थिक वर्ष २०७६÷०७७ मा ओपिडी सेवा १५ हजार २ सय २ जनालाई उपलब्ध गराएको छ । पञ्चकर्म (पूर्वकर्म) सेवा ९ सय ५९ जनाले लिए । जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन सेवा ६ सय ९८ जना, निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय ५२ जना, स्तनपायी आमालाई दुग्धवर्धक औषधी वितरण १ सय १७ जना, कोभिड १९ रोग प्रतिरोधात्मक सेवा ३ सय ३६ जना गरी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट १८ हजार ५४ जनाले सेवा लिएका छन् । तत्कालै समस्या परेर अस्पताल जाने विरामीहरुको संख्यासँगै दिर्घकालीन रोग लागेका ब्यक्तिहरु, रोग नै लाग्न नदिने ब्यक्तिहरुको संख्या आयुर्वेद तर्फ बढ्न थालेको छ । आयुर्वेदको प्रयोगले एक त ब्यक्ति स्वस्थ हुन सक्छ भने अर्काे स्वदेशमै पुँजी रहन्छ । पुँजी पलायन हुने क्रम पनि आयुर्वेदको उपचार विधिबाट रोक्न सकिनेछ ।
आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाले निःशुल्क विरामी जाँच तथा औषधि वितरण सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य प्रबर्धन सेवा, स्तनपायी आमाहरुलाई मातृशिशु सेवा, पंचकर्म र पूर्वकर्म सेवा, योगाभ्यास सेवा र स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । कार्यालयले गत आर्थिक वर्षमा ट्राफिक प्रहरीलाई प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनिकरण (नश्यकर्म), विद्यालय आयुर्वेद तथा योग शिक्षा, जनप्रतिनिधि तथा पत्रकारलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण क्वारेन्टीनहरुमा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी तथा मनोसामाजिक परामर्श तथा योग सेवा उपलब्ध गराएको छ । नागरिकहरुलाई थप सेवा उपलब्ध गराउन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा ओपिडि सेवा मात्र भएकाले त्यसलाई विस्तार गरी उपचार सेवा विस्तार गर्न आवश्यक रहेको स्थानीयहरुले बताएका छन् ।
सेवाग्राहिहरुले आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन र नागरिकहरुको सेवामा विस्तार गर्न ओपिडि सेवासँगै विरामीहरु भर्ना गरेर उपचार गराउनु पर्ने बताएका छन् । कार्यालय प्रमुख डा. चौधरीले महामारीमा सबैलाई स्वास्थ्य मापदण्डको उचित रुपमा अभ्यास गराउने कार्य तथा नागरिकको सहज स्वास्थ्य सेवामा पहुँच गराउन, निजी आयुर्वेद स्वास्थ्य संस्थाको संचालन अनुमतिको लागी मापदण्ड नभएको, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा भएको ओपिडि सेवालाई अस्पतालको रुपमा विकास गर्नुपर्ने, जिल्ला भित्रका सबै सरकारी तथा अन्य निकायबीच समन्वय गरी एकीकृत कार्ययोजनाका साथ महामारी विरुद्ध लड्न सके नागरिकको स्वास्थ्य रक्षा गर्न सकिने सम्भावना रहेको बताए । महामारीका बेला विरामीहरु आयुर्वेद सेवाका लागि अस्पताल हुन सक्ने वातावरण बनाउन प्रदेश सरकारले आयुर्वेद स्वास्थ्य संस्थाहरुको थप विकास गर्नु जरुरी छ ।
जिल्लामा सरकारीसँगै निजी क्षेत्रका आयुर्वेदहरुले पनि नागरिकहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराईरहेका छन् । स्वस्थ खानपानको अभाव हुँदा नागरिकहरुलाई पछिल्लो समय सर्ने भन्दा नसर्ने रोगले सताउन थालेको छ । नागरिकहरुको जीवन रक्षाका लागि आयुर्वेद उपचार विधि र योगाभ्यासमा जोड दिनु जरुरी छ ।









