बेथान्चोक/बेथान्चोक गाउँपालिकामा रहेको क्वारेन्टाईनमा आत्महत्या गर्नुको प्रमुख कारण न्युनतम मापदण्ड नपुगेको देखिएको छ । ‘आत्महत्याका अन्य कारणहरु पनि हुन सक्छन् तर प्रमुख कारण ब्यवस्थापकिय कमजोरी देखियो’–प्रमुख जिल्ला अधिकारी एवं संकट ब्यवस्थापन केन्द्र काभ्रेका प्रमुख श्रवणकुमार तिमल्सिनाले भन्नुभयो–‘न्यूनतम मापदण्ड पूरा गरी सुरक्षा ब्यवस्था सहित क्वारेन्टाईनको ब्यवस्थापन गर्न अनुरोध गर्दछु ।’
मंगलबार जिल्लाको टोली क्वारेन्टाईनको निरीक्षण गर्न बेथान्चोक गाउँपालिका पुगेको थियो । टोलीले घटनास्थल, क्वारेन्टाईनको मापदण्ड र भएको ब्यवस्था, त्यसपछिको उत्पन्न परिस्थिति तथा पीडित परिवार, गाउँपालिकाका जनप्रतिनिधिहरु, सर्वसाधारणहरुलाई भेट गरेको थियो । स्थानीय तथा पीडित परिवारका तर्फबाट फुपाजु राजदेव तामाङले प्रविधिको समयमा सामान्य भन्दा सामान्य अवस्थाबाट बञ्चित गराएको, जिम्मेवारीमा भएका ब्यक्तिहरुले वेवास्ता गरेको, न्यूनतम आवश्यकताहरु उपलब्ध हुन नसकेकाले मानसिक तनाव भई आत्महत्या गर्न पुगेको बताउनु भएको थियो । गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले घटनाका बारेमा निश्पक्ष छानविन गरी संलग्न दोषी भए कारवाहीका लागि जिल्लाको टोली समक्ष अनुरोध गर्नु भयो । जिल्ला समन्वय समितिका प्रमुख उद्वव केसी, धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, एसपी रवि पौड्याल सहितको सुरक्षाको टोली, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झा, धुलिखेल अस्पतालका डा. सुमन ताम्राकार लगायतको टोली सहभागी थियो । टोलीले प्रहरीलाई अपराध सम्वन्धी घटनाको निश्पक्ष छानविन गरी दोषिलाई कारवाहीका लागि अनुरोध गरेको छ भने क्वारेन्टाईनको ब्यवस्थापनमा थप सुरक्षा संवेदनशिलता सहित ब्यवस्थापकिय पक्ष सुधार गर्न अनुरोध गरेको छ । चलाल गणेस्थान घर भएकी २१ बर्षीय युवतीले शुक्रबार दिउसो आत्महत्या गरेकी थिईन् । पीडितहरुले स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्य शाखा प्रमुख प्रमोद भनिने सिताराम तिमल्सिना र स्वास्थ्य चौकी प्रमुख दुर्गा पोखरेललाई निलम्बन गरी छानविनको माग गरे पछि गाउँपालिकाले आईतबार २५ गते निलम्वन गर्ने निर्णय गरेको छ । मृतकको शव सोमबार स्वयम्भुमा अन्त्येष्टि गरिएको छ ।









